Friday, April 11, 2014

रेडियो नेपालका कार्यकारी निर्देशलाई राजीनामा दिन दबाब

चैत, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशकलाई तत्काल राजीनामा दिन सञ्चारमन्त्रीले दबाब दिएका छन् । सञ्चारमन्त्री मिनेन्द्र रिजालले कांग्रेसको नेतृत्वमा सरकार आएको तथा सञ्चार मन्त्रालय कांग्रेसको भागमा परेको भन्दै कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई राजीनामा दिन दबाब दिएका हुन् ।
Radio Nepal०६९ मंसिर १९ मा ४ वर्षका लागि नियुक्त कार्कीलाई मन्त्रालयमा बोलाएर सञ्चारमन्त्री रिजालले राजीनामा दिन दबाब दिएपछि पदबाट नहटाउनुपर्ने कारणसहितको स्पष्टिकरण दिन सञ्चार मन्त्रालयले पत्र काटेको छ ।
‘सञ्चारमन्त्री रिजालले मलाई बोलाएर तत्काल राजीनामा दिएर कांग्रेसको मान्छे नियुक्तिको बाटो खोलिदिन भने’, कार्यकारी निर्देशक कार्कीले बताए, ‘सञ्चारमन्त्रालय कांग्रेसको भागमा परेकाले म माथि झुठा आरोप लगाएर पद छोड्न दबाब दिइयो ।’
सञ्चार मन्त्रालयका निमित्त सचिव सुशीलकुमार ओझाले स्पष्टिकरण पेश गर्न भन्दै शुक्रबार कार्कीलाई पठाएको पत्रमा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको पालना नगरी सामान खरिद गरी आचारसंहिता उलंघन गरेको जनाउँदै पत्र पाएको तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेका छन् ।
कार्यकारी निर्देशक कार्कीले रेडियो प्रसार सेवा विकास समितिमा कुनै पनि सामान खरिदमा आफ्नो संलग्नता नहुने जनाउँदै अख्तियारले समेत छानविन गरेर आचरणविपरित काम नभएको बताइसक्दा सञ्चारमन्त्रीले नियतवश आफूलाई हटाउन खोजेको बताए ।
बन्द भइसकेको कार्यक्रम घटनाविचार पुनः सञ्चालनमा ल्याउन मन्त्रालयबाट आएको दबाब अस्वीकार गर्दा आफूलाई हटाउन खोजिएको कार्यकारी निर्देशक कार्कीको भनाई छ ।
सञ्चार मन्त्रालयका निमित्त सचिव सुशीलकुमार ओझाले भने कार्यकारी निर्देशक कार्कीले अनियमितता गरेकोबारे सर्तकता केन्द्रमा उजुरी परेर केन्द्रले कारबाहीका लागि अख्तियारलाई पत्र काटिसकेकाले मन्त्रालयले स्पष्टिकरण सोधेको बताए । ‘उहाँविरुद्द मन्त्रालयमा समेत उजुरी परेकाले स्पष्टिकरण सोधिएको हो’, निमित्त सचिव ओझाले भने, ‘अख्तियारले समेत छानविन गरिरहेकाले मन्त्रालयले पनि चासो राखेको हो ।’
कार्यकारी निर्देशक कार्कीले भने आफू कार्यकारी निर्देशक भएपछि रेडियो नेपालले १६ करोड बढी आम्दानी गरेको बताउँदै कर्मचारीलाई पनि नियमित तलब उपलब्ध गराउँदै आएको दाबी गरे । ‘कांग्रेस कार्यकर्ता भर्तीका लागि मलाई पाखा लगाउन खोजिएको हो’, कार्कीले भने, ‘सरकारले अनुदान दिएमात्रै कर्मचारीले तलब खान पाउने अवस्थाको रेडियो नेपालमा मैले करोडौं आम्दानी गराउँदा म माथि झुठा आरोप लगाइयो ।’

Nepal Telecom

नेपालको पहिलो खेल यूएईसँग

काठमाडौ, चैत्र २५ - नेपालले एसीसी पि्रमियर लिगमा पहिलो खेल यूएईसँग खेल्ने तय भएको छ । मे १ देखि ७ सम्म मलेसियाको क्वालालम्पुरमा हुने प्रतियोगिताको पहिलो दिन नेपालले सिलेङ्गर टर्फ क्लबमा खेल्नेछ ।
एसियाली क्रिकेट काउन्सिलले एसियाका टेस्ट मान्यता नपाएका शीर्ष वरीयतामा रहेका टिमबीच पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसहित छ टिमको सहभागिता रहनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक मलेसियासहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् ।
यसअघि एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले इमर्जिङ र एलिट प्रतियोगिता आयोजना गरिरहेकामा पहिलो पटक पि्रमियर लिग गर्न लागेको हो ।
नेपालले ५० ओभरको यो प्रतियोगितामा मे २ मा मलेसियाको सामना गर्नेछ भने मे ४ मा ओमान तथा मे ५ मा हङकङसँग भिड्नेछ । अन्तिम खेलमा मे ७ मा नेपाल र अफगानिस्तान भिड्नेछन् ।
सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने विश्वकपका लागि छानिएका अफगानिस्तान र यूएई तथा वान-डे मान्यता पाएको हङकङसहितको एसोसिएट्स राष्ट्रबीच यो प्रतियोगिता नेपाललाई आफ्नो वर्चस्व सिद्ध गर्ने अवसर पनि हुनेछ । आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपमा राम्रो प्रदर्शन गरेर उत्साहित नेपाललाई ५० ओभरको प्रतियोगितामा पनि आफूलाई प्रमाणित गर्नुपर्ने छ । ट्वान्टी-ट्वान्टी विश्वकपको समूह चरणमा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । तर, न्युजिल्यान्डमा भएको आईसीसी वान-डे विश्वकप छनोटमा भने नेपालले बिर्सनलायक प्रदर्शन गरेको थियो । त्यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यूएई वान-डे विश्वकपमा छनोट भएको थियो । हङकङले भने विश्वकप छनोट तेस्रो स्थानमा टुंग्याएको थियो ।
एसियाली क्रिकेट काउन्सिलले प्रतियोगितामा अफगानिस्तान, हङकङ र यूएईबीच एकापसमा हुने खेलले वान-डे मान्यता पाउने जनाएको छ ।

सुसाइड नोट खोतल्दै मोमिला

सुसाइड नोट खोतल्दै मोमिला




    sahitya
    काठमाडौ, चैत्र २८ - भीमसेन थापाको आत्महत्याबारे थुप्रै सन्दर्भ छन् साहित्यमा । कवयित्री मोमिलाले त्यही ऐतिहासिक घटनालाई वर्तमान राजनीतिक-सामाजिक पक्षसँग जोडेर कविता लेखिन्- 'भीमसेन थापाको सुसाइड नोट ।' इमान-जमान र नैतिकतामा र्‍हास आउँदै गरेको अहिलेको समय र समाजमाथि व्यंग्य गरिएको यो कविताले धेरैवटा साहित्यिक स्टेज पनि तताइन् मोमिलाले । यही कवितालाई शीर्ष बनाई उनले नयाँ कविता संग्रह सार्वजनिक गरेकी छन् । नेपाली कविता कृति 'भीमसेन थापाको सुसाइड नोट' सँगै चुनिएका कविताहरूको अंग्रेजी अनुवाद कृति 'सेलेक्टेड पोयम्ज' बिहीबार राजधानीमा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले लोकार्पण गरे ।
    'पैयुँ फुल्न थालेपछि', 'जुनकिरी ओर्लिरहेछन्', 'दुर्गम उचाइमा फूलको आँधी' जस्ता कविता कृति र 'ईश्वरको अदालतमा आउटसाइडरको बयान', 'नीलोनीलो आकाश र दुई थोपा आँसु' जस्ता निबन्ध कृति दिइसकेकी उनको यो कविता कृति भने दस वर्षपछि आएको हो । मोमिलाको लेखनमा एकप्रकारको जादू हुने दाबी गर्दै प्रमुख अतिथि तुलसीले शब्दहरूसँग खेल्ने जबर्जस्त ताकत बोकेको स्रष्टाका रूपमा उनलाई चित्रण गरे । 'उनका कविताबाट म निकै आह्लादित भएको छु,' कृतिमाथि टिप्पणी गर्दै समालोचक डा.अभि सुवेदीले भने, 'उनका रसदार शब्द र विम्बहरूको प्रयोगले मानवीय संवेदनालाई उद्वेलित बनाइदिन्छ । उनका कवितामा तरलता र गतिशीलता श्ाक्तिशाली रूपमा पाइन्छ ।' शीर्ष कविता सुरुमा पढ्दा 'इतिहासको जार्गन' जस्तो मात्रै होला भन्ने अनुमान गरेको र पढिसकेपछि थोरै शब्दमा धेरै गम्भीर अर्थहरू पाएको अभिले दाबी गरे ।
    अर्को कृति 'सेलेक्टेड पोयम्ज' माथि चाहिँ अर्का समालोचक डा. गोविन्दराज भट्टराईले अंग्रेजीमा लिखित टिप्पणी सुनाएका थिए । 'उनका कविताहरू फरक परिवेश, फरक मुड र फरक विषयवस्तुका साथ अत्यन्त सशक्त रूपमा उभिएका छन्,' गोविन्दले भने । मोमिलाले चाहिँ 'जिन्दगी कविता नै नभए पनि कविता जस्तो चाहिँ हुने' दाबी गर्दै आफ्ना सिर्जनालाई एकान्तको समाधिबाट जन्मेको जनाइन् । 'मलाई कविता र प्रेम उस्तै उस्तै लाग्छ,' उनले भनिन्, 'दुवैमा अहंकार मिसियो भने केही पनि नरहने । त्यही भएर मैले मेरा यी कविताहरू अहंकारका दाँत फुकालेर गरेको समाधिबाट जन्मेका छन् ।' उनका कृतिमाथि शिक्षासेवी उमेश श्रेष्ठ र प्रकाशक कुयाङ लामाले पनि बोलेका थिए । 'भीससेन थापाको सुसाइड नोट' याम्बुरी बुक प्वाइन्टले छापेको हो भने 'सेलेक्टेड पोयम्ज' चाहिँ नेपाली कला साहित्य डटकम प्रतिष्ठानले ।

    दूध उत्पादक कृषकको संख्या बढ्दै छ


    ललितपुर, चैत्र २४ - जिल्लाको दक्षिण भेगका गाविसमा दूध उत्पादक कृषकको संख्या बढ्दै छ, साथमा गाउँमा चिस्यान केन्द्र नहुँदा बिचौलियालाई दूध बेच्नुपर्ने बाध्यता पनि छ । गाउँ-गाउँमा उन्नत जातका गाईभैंसी पालेर कृषक व्यावसायिक रूपमा लागेका छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार मानिखेल, बडीखेल, विशंखुनारायण, गिम्दी, विशंखु, सैंबु, आश्राङ, प्युटार, इकुटोल, शंखु, चुनीखेल र कुसुन्तीलगायत गाविसमा उन्नत जातका गाईभैंसी पाल्ने कृषक बढेका छन् । मानिखेल, लेले र सैंबुमा मात्र किसानको उत्पादनलाई लक्ष्य गरेर दूध चिस्यान केन्द्र स्थापना भएका छन् ।
    पशुपालनका लागि राम्रो हावापानी र घाँसको समस्या नभएकाले गाईभैंसी पालक कृषक बढेका हुन् । गाउँमा प्रशोधन केन्द्र नहँुदा उत्पादित दूध बिचौलियाका हातमा दिनुपर्दा मर्का परेको सैंबुका कृषक अर्जुन घिमिरेले बताए । 'गाउँभरिका किसानले दैनिक सयौं लिटर दूध जम्मा गर्छन्,' उनले भने ।
    जिल्लाको दक्षिण क्षेत्रका अधिकांश गाविसमा कच्ची सडक निर्माण भए पनि यातायातका साधन पुग्दैनन् । ढुंगा, बालुवा बोक्ने साना-ठूला ट्रक मात्र ओहोरदोहोर गर्छन् । किसानको दूध बोक्ने साना सवारीसाधन कमै देख्न पाइन्छ । गाउँमा प्रतिलिटर ४० देखि ५० रुपैयाँमा खरिद गरिने दूध बिचौलियाहरूले ६० देखि ७० रुपैयाँमा बजारका डेरी उद्योगलाई बेच्छन् ।
    मानिखेल, विशंखुनारायण, गिम्दी, विशंखु, सैंबु, आश्राङ, प्युटार, इकुडोल, चुनीखेल र कुसुन्तीका किसानले लेले र चापागाउँस्थित प्रशोधन केन्द्रमा पुर्‍याउँछन् । गाडी या बाटोको समस्याका कारण बाटोमै दूध फाट्ने समस्या छ । मिहिनेतअनुसार मूल्य नपाउँदा मर्कामा परेको खुमलटारका कृषक ज्ञानेन्द्र सञ्जेलले बताए । 'किसानभन्दा बिचौलिया मोटाउने गरेका छन्, हामी घाटा बेहोर्न बाध्य छौं,' उनले भने । नख्खुका कृषक चिरञ्जीवी सापकोटा पनि त्यसैमा जोड दिन्छन् । 'नजिकमा चिस्यान केन्द्र नहुँदा हामी ठूलो मर्कामा छौं,' उनले भने ।
    पशु सेवा कार्यालयका अनुसार जिल्लामा वार्षिक करिब १५ हजार मेटि्रक टन दूध उत्पादन हुन्छ । किसानले उचित मूल्य पाउन नसकेको कार्यालय प्रमुख डा. करुणा शर्माले बताइन् । 'कृषकहरूले धेरै पटक गुनासो गरेका छन्, दूध व्यवसाय गर्नहरूको हालीमुहालीले उनीहरू मर्कामा छन्,' उनले भनिन् ।
    - See more at: http://www.ekantipur.com/np/2070/12/24/full-story/387052.html#sthash.ywkw4Lly.dpuf

    Contact Office

                        Hijo Aaja.com
                         9841989873
                 jeevanpath@gmail.com
        Kunchok -04 Sindhupalchok Nepal