सुसाइड नोट खोतल्दै मोमिला
काठमाडौ, चैत्र २८ - भीमसेन थापाको आत्महत्याबारे थुप्रै सन्दर्भ छन् साहित्यमा । कवयित्री मोमिलाले त्यही ऐतिहासिक घटनालाई वर्तमान राजनीतिक-सामाजिक पक्षसँग जोडेर कविता लेखिन्- 'भीमसेन थापाको सुसाइड नोट ।' इमान-जमान र नैतिकतामा र्हास आउँदै गरेको अहिलेको समय र समाजमाथि व्यंग्य गरिएको यो कविताले धेरैवटा साहित्यिक स्टेज पनि तताइन् मोमिलाले । यही कवितालाई शीर्ष बनाई उनले नयाँ कविता संग्रह सार्वजनिक गरेकी छन् । नेपाली कविता कृति 'भीमसेन थापाको सुसाइड नोट' सँगै चुनिएका कविताहरूको अंग्रेजी अनुवाद कृति 'सेलेक्टेड पोयम्ज' बिहीबार राजधानीमा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले लोकार्पण गरे ।
'पैयुँ फुल्न थालेपछि', 'जुनकिरी ओर्लिरहेछन्', 'दुर्गम उचाइमा फूलको आँधी' जस्ता कविता कृति र 'ईश्वरको अदालतमा आउटसाइडरको बयान', 'नीलोनीलो आकाश र दुई थोपा आँसु' जस्ता निबन्ध कृति दिइसकेकी उनको यो कविता कृति भने दस वर्षपछि आएको हो । मोमिलाको लेखनमा एकप्रकारको जादू हुने दाबी गर्दै प्रमुख अतिथि तुलसीले शब्दहरूसँग खेल्ने जबर्जस्त ताकत बोकेको स्रष्टाका रूपमा उनलाई चित्रण गरे । 'उनका कविताबाट म निकै आह्लादित भएको छु,' कृतिमाथि टिप्पणी गर्दै समालोचक डा.अभि सुवेदीले भने, 'उनका रसदार शब्द र विम्बहरूको प्रयोगले मानवीय संवेदनालाई उद्वेलित बनाइदिन्छ । उनका कवितामा तरलता र गतिशीलता श्ाक्तिशाली रूपमा पाइन्छ ।' शीर्ष कविता सुरुमा पढ्दा 'इतिहासको जार्गन' जस्तो मात्रै होला भन्ने अनुमान गरेको र पढिसकेपछि थोरै शब्दमा धेरै गम्भीर अर्थहरू पाएको अभिले दाबी गरे ।
अर्को कृति 'सेलेक्टेड पोयम्ज' माथि चाहिँ अर्का समालोचक डा. गोविन्दराज भट्टराईले अंग्रेजीमा लिखित टिप्पणी सुनाएका थिए । 'उनका कविताहरू फरक परिवेश, फरक मुड र फरक विषयवस्तुका साथ अत्यन्त सशक्त रूपमा उभिएका छन्,' गोविन्दले भने । मोमिलाले चाहिँ 'जिन्दगी कविता नै नभए पनि कविता जस्तो चाहिँ हुने' दाबी गर्दै आफ्ना सिर्जनालाई एकान्तको समाधिबाट जन्मेको जनाइन् । 'मलाई कविता र प्रेम उस्तै उस्तै लाग्छ,' उनले भनिन्, 'दुवैमा अहंकार मिसियो भने केही पनि नरहने । त्यही भएर मैले मेरा यी कविताहरू अहंकारका दाँत फुकालेर गरेको समाधिबाट जन्मेका छन् ।' उनका कृतिमाथि शिक्षासेवी उमेश श्रेष्ठ र प्रकाशक कुयाङ लामाले पनि बोलेका थिए । 'भीससेन थापाको सुसाइड नोट' याम्बुरी बुक प्वाइन्टले छापेको हो भने 'सेलेक्टेड पोयम्ज' चाहिँ नेपाली कला साहित्य डटकम प्रतिष्ठानले ।
No comments:
Post a Comment