ललितपुर, चैत्र २४ - जिल्लाको दक्षिण भेगका गाविसमा दूध उत्पादक कृषकको संख्या बढ्दै छ, साथमा गाउँमा चिस्यान केन्द्र नहुँदा बिचौलियालाई दूध बेच्नुपर्ने बाध्यता पनि छ । गाउँ-गाउँमा उन्नत जातका गाईभैंसी पालेर कृषक व्यावसायिक रूपमा लागेका छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार मानिखेल, बडीखेल, विशंखुनारायण, गिम्दी, विशंखु, सैंबु, आश्राङ, प्युटार, इकुटोल, शंखु, चुनीखेल र कुसुन्तीलगायत गाविसमा उन्नत जातका गाईभैंसी पाल्ने कृषक बढेका छन् । मानिखेल, लेले र सैंबुमा मात्र किसानको उत्पादनलाई लक्ष्य गरेर दूध चिस्यान केन्द्र स्थापना भएका छन् ।
पशुपालनका लागि राम्रो हावापानी र घाँसको समस्या नभएकाले गाईभैंसी पालक कृषक बढेका हुन् । गाउँमा प्रशोधन केन्द्र नहँुदा उत्पादित दूध बिचौलियाका हातमा दिनुपर्दा मर्का परेको सैंबुका कृषक अर्जुन घिमिरेले बताए । 'गाउँभरिका किसानले दैनिक सयौं लिटर दूध जम्मा गर्छन्,' उनले भने ।
जिल्लाको दक्षिण क्षेत्रका अधिकांश गाविसमा कच्ची सडक निर्माण भए पनि यातायातका साधन पुग्दैनन् । ढुंगा, बालुवा बोक्ने साना-ठूला ट्रक मात्र ओहोरदोहोर गर्छन् । किसानको दूध बोक्ने साना सवारीसाधन कमै देख्न पाइन्छ । गाउँमा प्रतिलिटर ४० देखि ५० रुपैयाँमा खरिद गरिने दूध बिचौलियाहरूले ६० देखि ७० रुपैयाँमा बजारका डेरी उद्योगलाई बेच्छन् ।
मानिखेल, विशंखुनारायण, गिम्दी, विशंखु, सैंबु, आश्राङ, प्युटार, इकुडोल, चुनीखेल र कुसुन्तीका किसानले लेले र चापागाउँस्थित प्रशोधन केन्द्रमा पुर्याउँछन् । गाडी या बाटोको समस्याका कारण बाटोमै दूध फाट्ने समस्या छ । मिहिनेतअनुसार मूल्य नपाउँदा मर्कामा परेको खुमलटारका कृषक ज्ञानेन्द्र सञ्जेलले बताए । 'किसानभन्दा बिचौलिया मोटाउने गरेका छन्, हामी घाटा बेहोर्न बाध्य छौं,' उनले भने । नख्खुका कृषक चिरञ्जीवी सापकोटा पनि त्यसैमा जोड दिन्छन् । 'नजिकमा चिस्यान केन्द्र नहुँदा हामी ठूलो मर्कामा छौं,' उनले भने ।
पशु सेवा कार्यालयका अनुसार जिल्लामा वार्षिक करिब १५ हजार मेटि्रक टन दूध उत्पादन हुन्छ । किसानले उचित मूल्य पाउन नसकेको कार्यालय प्रमुख डा. करुणा शर्माले बताइन् । 'कृषकहरूले धेरै पटक गुनासो गरेका छन्, दूध व्यवसाय गर्नहरूको हालीमुहालीले उनीहरू मर्कामा छन्,' उनले भनिन् ।
- See more at: http://www.ekantipur.com/np/2070/12/24/full-story/387052.html#sthash.ywkw4Lly.dpuf
No comments:
Post a Comment